आइतबार, २५ असोज २०८३ | १०:२२ PM
सुरुङ उद्धारका लागि स्विट्जरल्यान्डको सहयोग, नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण

सुरुङ उद्धारका लागि स्विट्जरल्यान्डको सहयोग, नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण

लगानीबक्स २० भदौ २०८३ १०:०३ अपराह्न

काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विस कम्पनी फ्लाईबिलिटी ले निर्माण गरेको विशेष ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधमा ल्याइएको उक्त ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञमार्फत प्राधिकरणलाई प्रदान गरिएको दूतावासले जनाएको छ।

यो ड्रोन विशेष रूपमा मानिस पुग्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र उडान भरेर निरीक्षण गर्न सक्षम रहेको बताइएको छ। ड्रोनमा जडान गरिएको सुरक्षात्मक घेराका कारण सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि यो नखसी निरन्तर उड्न सक्ने क्षमता राख्छ। हाल भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाको खोज तथा उद्धार कार्य जारी रहेका बेला यस्तो प्रविधिले उद्धार अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्ला दिनहरूमा नेपालका जलविद्युत् सुरुङहरूमा उद्धार कार्य जटिल बन्दै गएको र ड्रोन प्रविधिको प्रयोगलाई प्रभावकारी विकल्पका रूपमा हेरिएको छ।