काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) का विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा दुवै परराष्ट्रमन्त्रीहरूले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीबारे छलफल गरेका छन्।
परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तर-निकाय द्रुत प्रतिक्रिया टोली तथा कोरियाली विपद् राहत टोली परिचालन गरेकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे। साथै, कोरियाले उपलब्ध गराएको मानवीय सहायता र राहत सामग्रीको पनि उनले प्रशंसा गरे। खनालले नेपाल सरकारको अबको प्राथमिकता दिगो, उत्थानशील र सुदृढ पूर्वाधारको पुनर्निर्माण तथा पुनरुत्थान रहेको उल्लेख गर्दै यस अभियानमा कोरिया सरकारको निरन्तर सहयोग अपेक्षित रहेको बताए।
जवाफमा कोरियाली विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई आवश्यक सहयोग गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरूले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको यसप्रति ऐतिहासिक जिम्मेवारी रहेको धारणा राखे।
उनले ‘कोप’ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका असरबारे विश्व समुदायलाई सचेत गराउन नेपाल र दक्षिण कोरियाले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए। साथै, नेपालले प्राप्त गर्नुपर्ने जलवायु वित्त तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा दक्षिण कोरियाले बलियो आवाज उठाउने प्रतिबद्धता जनाए।
भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले दीर्घकालीन मित्रता, आपसी विश्वास र सहकार्यमा आधारित नेपाल–दक्षिण कोरिया सम्बन्धलाई अझ सुदृढ र उच्च स्तरमा पुर्याउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
