काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा साधारण शेयरधनीहरुका लागि कुल १५ दशमलव ८० प्रतिशत र अग्राधिकार शेयरधनीहरुका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारण शेयरधनीहरुतर्फको कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ८० प्रतिशत नगद लाभांश रहेको कम्पनीको भनाई छ ।
त्यस्तै कम्पनीले ८ प्रतिशत निश्चित लाभांश दर तोकेर जारी गरेको अभिमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुका लागि समेत पहिलो वर्षनै तोके बमोजिमको लाभांश दिने निर्णय गरेको छ । कम्पनीले कर समेत ८ प्रतिशत नगद लाभांश भने अग्राधिकार शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष ०८२।८३ मा कम्पनीले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक बृद्धिको आधरामा शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने उदेश्यले लाभांश प्रस्ताव गरिएको जानकारी कम्पनीले दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरि वितरण हुनेछ ।

