काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनले सोमबार दिउँसो ३ः३० बजे नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी फर्किएपछि राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन्।
यसअघि आजै राष्ट्रपति पौडेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। अवलोकनका क्रममा उनले विपद्बाट भएको जनधनको क्षति, उद्धार तथा राहत कार्यको अवस्था र प्रभावित नागरिकले भोगिरहेका समस्याबारे नेपाली सेना तथा सम्बन्धित निकायका अधिकारीहरूसँग जानकारी लिएका थिए।
हालै आएको विनाशकारी बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सोही सन्दर्भमा राष्ट्रपति पौडेलको सम्बोधनलाई चासोका साथ हेरिएको छ।
