काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग बेलायतको सर्वोच्च अदालतका न्यायाधीश लर्ड ह्याम्ब्लेन, सिनियर प्रेसिडेन्ट अफ ट्रिब्युनल्स लर्ड जस्टिस डिङ्गेमान्स, मार्क हिल केसी तथा नेपालका लागि बेलायती राजदूत रोब फेनसहितको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेटवार्ता गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको भेटमा बेलायती प्रतिनिधिमण्डलले नेपालमा हालै घटेको दुःखद घटनाप्रति समवेदना व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा नेपाल र बेलायतको न्यायिक प्रणाली, न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच, मुद्दा व्यवस्थापन, मेलमिलाप, न्याय प्रणालीमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग र विधिको शासन (रुल अफ ल) लगायतका विषयमा अनुभव आदानप्रदान गर्दै विस्तृत छलफल भएको थियो।
छलफलमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउने उपायका साथै नेपाल र बेलायतबीच कानून तथा न्याय क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार विमर्श भएको मन्त्रालयले जनाएको छ।
