काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायत विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लाहरूमा पठाइँदैछ। रसुवामा मुखबाट दिइने २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ भने भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यस्तै, नुवाकोटमा ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ र त्यहाँ पनि यही साताभित्र खोप अभियान सुरु गरिने जनाइएको छ।
वडा कार्यालयस्तरमा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित क्षेत्रका नागरिकलाई खोप दिइनेछ। एक वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ। सम्भावित हैजाको महामारी रोकथाम गर्न पूर्वतयारीस्वरूप यो अभियान सञ्चालन गर्न लागिएको हो।
यसैबीच, सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा टिडी तथा दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गर्ने तयारी गरेको छ। उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ।
यस्तै, ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी दुई साताभित्र दादुरा–रुबेला खोप अभियान सम्पन्न गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
खोप ऐनअन्तर्गत गठित राष्ट्रिय खोप सल्लाहकार समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको अभावका कारण हैजा तथा अन्य महामारी फैलिन सक्ने जोखिम औंल्याउँदै पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको हो।
खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
