बिहीबार, २५ भदौ २०८३ | ५:०४ PM
देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि पैदल आवतजावत खुला

देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि पैदल आवतजावत खुला

लगानीबक्स २४ भदौ २०८३ ११:२६ अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिज निर्माण कार्य सम्पन्न भएको छ।

पाँच दिनअघि सुरु गरिएको पुल जडान कार्य सेनाको टोलीले निरन्तर खटिएर पूरा गरेको हो। नयाँ पुल सञ्चालनमा आएसँगै भोलिदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिनेछ भने पर्सिदेखि सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ।

भोटेकोशी बाढीले पुरानो पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। छोटो समयमै वैकल्पिक पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई ठूलो राहत पुगेको छ।

सेनाले पुल सञ्चालनपछि राहत सामग्री ढुवानी, दैनिक आवागमन तथा स्थानीय आर्थिक गतिविधि सहज हुने जनाएको छ।