काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । गत आर्थिक वर्ष २०८२÷८३ को लागि कुल ८ दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले बोनस पछि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ६३ करोड रुपैयाँको आधारमा ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर पछि कायम चुक्तापूँजी ६८ करोड ३५ लाख ५० हजार रुपैयाँको आधारमा सोही रकम बराबर हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गर्दै असोज १६ गते कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ।
सभा जर्मन होम्स होटल। मध्यपुर ठिमी, भक्तपुरमा विहान ११ः३० बजे सुरु हुनेछ । लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभाले हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी ६३ करोड रुपैयाँ छ । सोही पूँजीको आधारमा यो वर्ष कम्पनीले ५ करोड ६३ लाख ६८ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
गत वर्षदेखि लाभांश वितरण गर्न थालेको कम्पनीले गत वर्ष भने ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने गत वर्षभन्दा बढी लाभांश वितरण गर्ने तयारी कम्पनीको छ ।

