शुक्रबार, २६ भदौ २०८३ | १:३६ PM
बेनी हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन

बेनी हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन

लगानीबक्स २६ भदौ २०८३ १२:१६ अपराह्न

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गते थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २९ गतेनै पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरि करिब चार महिनामा थप सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गत वैशाख २ गतेपछि आईपीओ निष्कासनका लागि कुनै पनि कम्पनीलाई स्वीकृति दिएको छैन् । यस कम्पनीले भने गत माघ २९ गतेनै प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरि बाँकी रहेको १० लाख ४० हजार कित्तामध्येबाट १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २० हजार ८०० कित्ता कर्मचारीहरु र ५२ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ८ लाख ६३ हजार २०० कित्ता आईपीओ भने थप सर्वसाधारणमा निष्कासन गरिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिने व्यवस्था छ ।

साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले कम्पनीले सोलुखुम्बु जिल्लामा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा छ ।

व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी गत आर्थिक वर्ष ०८१।८२ सम्म ७ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा छ ।