दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार बिहान करिब ८ः३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी अन्दाजी २६ वर्षीय अजय थिङ गम्भीर घाइते भएका थिए।
प्रहरी टोलीले घाइते थिङको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको थियो। तर उपचारकै क्रममा बिहान ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
दुर्घटनामा ट्रकमा सवार सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
