मंगलबार, ३० भदौ २०८३ | १२:२१ PM
रिलायन्स स्पिनिङ्ग मिल्सले पहिलो वर्षनै घोषणा गर्‍यो ३० प्रतिशत लाभांश

रिलायन्स स्पिनिङ्ग मिल्सले पहिलो वर्षनै घोषणा गर्‍यो ३० प्रतिशत लाभांश

लगानीबक्स ३० भदौ २०८३ ११:३३ पूर्वाह्न

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले पहिलो वर्ष शेयरधनीहरुका लागि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँ छ । सोही पूँजीको आधारमा ५७ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित नगद लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले असोज २२ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । अनुपम फुडल्याण्ड एण्ड बैक्वेट, बत्तीसपुतली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभा प्रयोजननका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो कम्पनी नेपालमा धागो उत्पादन गर्ने उद्योगमध्ये सबैभन्दा ठूलो उद्योगको रूपमा रहेको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम लगायतका विभिन्न मुलुकहरूमा निकासी गरेको । यस कम्पनीले धागोको उच्च गुणस्तरका लागि भारत सरकारबाट इण्डियन स्टाण्डर्ड प्रमाणपत्र समेत प्राप्त गरेको छ ।