काठमाडौं । स्नो रिभर्स लिमिटेडले गत वर्षभन्दा यस वर्ष बढी लाभांश दिने भएको छ । गत वर्ष ४ दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असोज २१ गते वार्षिक साधारण सभा बोलाएको छ । लिसरा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ८ः३० बजे कम्पनीले सभा बोलाएको हो । लाभांश प्रस्तावलाई अन्तिम स्वीकृति दिँदैं सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखपरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
सञ्चालकहरुको भैठक भत्ता पुनरावलोकन , सर्वसाधारण समूहबाट एक जना सञ्चालन निर्वाचन र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधरामा असोज ७ गतेसम्म कायम शेयधरनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

