काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ३२ दिनका लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो रेट बेसिस’मा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक ९ गते हुने गरी मिति तोकिएको छ।

