काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिन० र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ ।‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ मुख्य नाराका साथ आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), युवा उद्यमशीलता र रोजगारीका अवसर सिर्जनाका विषयमा केन्द्रित रहेर छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरबाट करिब ४०० जना उद्यमी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहनेछ सम्मेलन आयोजना गर्ने सम्बन्धमा सिबिफिन र एनबिआईबीच गत असोज ५ गते समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
समझदारी हस्ताक्षर कार्यक्रममा सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, नवप्रवर्तन तथा डिजिटल बैंकिङको उपयोग बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । बैंकिङ क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप व्यावसायिक बनाउन, जिम्मेवार कर्जा उपभोगको संस्कृति विकास गर्न तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउन सम्मेलन महत्वपूर्ण हुने उनले बताए ।
एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए । नीतिगत व्यवस्था, स्टार्टअपका लागि बिउ पुँजी र वित्तीय पहुँच बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष जोडिएकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनले बताए ।
पर्याप्त तरलता र न्यून ब्याजदर रहेको अवस्थामा आयोजना हुन लागेको सम्मेलनले नयाँ पुस्ताका उद्यमीलाई व्यवसाय सुरु गर्न तथा विस्तार गर्न आवश्यक मार्गदर्शन दिने आयोजकको अपेक्षा छ । सम्मेलनमार्फत युवा उद्यमीमैत्री नीति निर्माण, लगानीको वातावरण सुधार तथा वित्तीय क्षेत्रको दिगो विकासका लागि आवश्यक विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

