काठमाडौँ । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच नेपालमा दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालको वित्तीय क्षेत्रमा ‘ग्रिन फाइनान्सिङ‘ (हरित वित्त) लाई थप प्रभावकारी र व्यावहारिक बनाउने लक्ष्य राखेको छ ।
समझदारी अनुसार, इसिमोडको दीर्घकालीन अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंकको वित्तीय विशेषज्ञतासँग जोडिनेछ । यस सहकार्यबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने दिगो आयोजना तथा लगानीका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबि बैंकले लामो समयदेखि दिगो तथा हरित बैंकिङलाई प्राथमिकतामा राख्दै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासहरू अपनाउँदै आएको छ । बैंक र इसिमोडबीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासको अन्तरसम्बन्धलाई थप मजबुत बनाउँदै नेपालको दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

