काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ।साउन १३ गते ६१ दिनका लागि संकलन गरिएको ३० अर्ब रुपैयाँ परिपक्व भएपछि राष्ट्र बैंकले असोज १२ गते एकमहिने निक्षेप संकलन उपकरणमार्फत पुनः ३० अर्ब रुपैयाँ उठाउन लागेको हो।
बोलकबोल दिउँसो ३ बजेसम्म हुनेछ भने साँवा तथा ब्याज कात्तिक ११ गते भुक्तानी गरिनेछ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा हालसम्म निक्षेप संकलन उपकरण र ऋणपत्रमार्फत १३ खर्ब ३० अर्ब २० करोड रुपैयाँ प्रणालीबाट प्रशोधन गरिएको छ।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि कर्जाको माग कमजोर हुँदा ठूलो रकम राष्ट्र बैंक तथा सरकारी ऋणपत्रमा जाने अवस्था देखिएको छ। पछिल्लो ९१ दिने ट्रेजरी बिलको बट्टादर पनि करिब १ प्रतिशत मा झरेको छ।


