काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । ऋणपत्र निष्कासन मिति छिटोमा कात्तिक १० गतेसम्मका लागि तोकिएको छ । यस अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलोमा कात्तिक १२ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले ऋणपत्रका लागि तोकिएको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्नेछन् ।
