काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्दा गत वर्षभन्दा यस वर्ष लोभलाग्दो प्रगति गरेको देखिन्छ । यस वर्ष गत वर्षभन्दा कम्पनीको खुद नाफा १३१ प्रतिशत बढी भएको हो ।
गत वर्ष ४५ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष भने १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम ६५ दशमलव ४१ प्रतिशत कम हुँदा खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष ९५ करोड ६७ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष भने ३३ करोड ९ लाख रुपैयाँभन्दा बढी रहेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा १६५ दशमलव ४४ प्रतिशत बढी १ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी भएको छ ।
कम्पनीको वितरणयोग्य नाफामा उल्लेख्य बृद्धि भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष भने ५६ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको हो । हाल कम्पनीको चुक्तापूँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म २ खर्ब ५४ अर्ब १० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ खर्ब ९९ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १ दशमलव ५८ प्रतिशत रहेको निष्क्रिय कर्जा कम भई १ दशमलव शून्य ८ प्रतिशतमा झरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा छ ।
