काठमाडौं । तीन लघुवित्त कम्पनीहरुबीच मर्जरका लागि सम्झौता भएको छ । जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा मर्जरमा जाने भएका हुन । यी कम्पनीहरुबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी तीनओटै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरु हुन । यस अघि चैत्र १४ गते जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको थियो ।
अब यी दुई कम्पनीले मानुषी लघुवित्तलाई समेत मर्जरमा समावेश गर्ने निर्णय गरेका हुन । मर्जर सम्झौता गरेका यी कम्पनीहरुको साधारण सभा सम्पन्न नभएसम्मका लागि आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का राख्न पनि अनुरोध भएको छ ।
जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ । मानुषी लघुवित्तको केन्द्रीय कार्यालय भने काभ्रेपलाञ्चोकमा रहेको छ । हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ। युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी भने १४ करोड ८५ लाख रहेको छ ।

