२०८३ वैशाख १० | १२:१७ PM
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ चलचित्र ‘कोटी कोटी प्रणाम’…

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ चलचित्र ‘कोटी कोटी प्रणाम’ को घोषणा

Bhim Poudel २०८३ वैशाख १० ११:५६ पूर्वाह्न

काठमान्डौ – सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी ले नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले निर्देशन गर्ने चलचित्रको नाम ‘कोटी कोटी प्रणाम’ राखिएको छ ।

चलचित्र घोषणासँगै लक्ष्मणले टाइटल पोस्टर पनि सार्वजनिक गरेका हुन् ।

नाम झट्ट सुन्दा र पोस्टर हेर्दा चलचित्र धार्मिक विषयवस्तुमा आधारित जस्तो लागे पनि निर्देशक सुवेदीका अनुसार यो पूर्ण रूपमा सामाजिक कथावस्तुमा केन्द्रित रहनेछ। समाजका विविध पक्षलाई समेट्दै सन्देशमूलक कथालाई प्रस्तुत गर्ने उनले बताएका छन्।

दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा सुवेदी स्वयंको लेखन तथा गीत रचना रहनेछ। चलचित्रको छायांकन कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा आगामी भदौ महिनाको पहिलो साताबाट सुरु गर्ने योजना छ।

कलाकार तथा प्राविधिक टोली भने हालसम्म अन्तिम चरणमा पुगेको छैन। निर्देशकका अनुसार नयाँ तथा अनुभवी कलाकारहरूको सन्तुलित संयोजन रहनेछ र कास्टिङ प्रक्रिया अहिले पनि जारी छ।

यसअघि ‘सतीदेवी’ चलचित्रमार्फत दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका सुवेदीको यो नयाँ प्रोजेक्टप्रति पनि अपेक्षा उच्च रहेको देखिन्छ।