काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको हकप्रद शेयर खरीद गर्ने अवधि थप भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० प्रतिशतले हुने २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यस अघि वैशाख १६ गतेसम्मको निष्कासन मिति तय गरिएकोमा अवधि थप गरि वैशाख ३० गतेसम्मको मिति तय गरिएको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि फागुन १७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो कारोबार दिन फागुन १४ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय तथा सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्न सकिनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर ट्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले २ अर्ब ५० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा हकप्रदमार्फत पूँजी बढाउन लागेको हो । १० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँभन्दा बढी कायम हुनेछ ।

