काठमाडौंमा युवालाई लक्षित गर्दै फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी सीपमूलक तालिम सञ्चालन हुने भएको छ। काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्ड बीच यससम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो।
महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि बढाइएको जनाइएको छ। सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म फोटोग्राफी र भिडियो पत्रकारितासम्बन्धी तालिम प्रदान गरिनेछ।

सम्झौतापत्रमा सरोज गुरागाईं (प्रमुख प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका) र दिनेशराज दाहाल ‘डि.सी.’ (अध्यक्ष, चलचित्र विकास बोर्ड) ले हस्ताक्षर गरेका हुन्। उक्त तालिम बोर्डको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन गरिनेछ।
चलचित्र विकास बोर्डले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि आवेदन आह्वानसमेत गरिसकेको छ। इच्छुकहरूले बोर्डले उपलब्ध गराएको फारम भरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। पहिलो दर्ता भएका निवेदनलाई प्राथमिकता दिँदै नियमअनुसार छनोट गरिने बोर्डले जनाएको छ।
बोर्डका अनुसार, तालिममार्फत युवाहरूलाई व्यावसायिक फोटोग्राफी, भिडियो पत्रकारिता तथा दृश्य–श्रव्य सामग्री निर्माणसम्बन्धी आधारभूत र व्यवहारिक सीप प्रदान गरिनेछ। साथै, चलचित्र, सञ्चार तथा सिर्जनात्मक उद्योगसँग सम्बन्धित नयाँ अवसरहरूमा युवाहरूको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्न र मिडिया तथा सिर्जनात्मक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

