काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले दोस्रो चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ वैशाख १७ गते बाँडफाँट गरेको छ । कम्पनीले वैशाख ३ गतेदेखि ८ गतेसम्म थप सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यबाट भाग्यमानी ३ लाख ४७ हजार ४९० जना आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । विक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ खरीदका लागि २७ लाख ६८ हजार ७४३ जनाले आवेदन दिएको जानकारी दिएको छ । यीमध्ये २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र रितपूर्वक भएको छ । रितपूर्वक आवेदन दिएका आवेदकहरुमध्ये २३ लाख ८३ हजार ४९७ जनाको हात खाली भएको छ ।
यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको आधारमा २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ९ देखि १२ गतेसम्म ४ लाख २९ हजार कित्ता आईपीओ निष्कासन गरि चैत १७ गते आईपीओ बाँडफाँट गरेको थियो । यी वाहेक पनि १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूमा र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा समेत आईपीओ बाँडफाँट भएको कम्पनीको भनाई छ ।
यस कम्पनीले विक्रम संवत् २०७८ सालदेखि औषधी उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । अधिकृत पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको यस कम्पनीको जारी पूँजी पनि सोही रकम बराबर रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

