२०८३ जेठ ११ | १:१४ PM
वैदेशिक रोजगारीमा रहेका नेपालीमा एभरेष्ट कलरको आईपीओ बाँडफाँट 

वैदेशिक रोजगारीमा रहेका नेपालीमा एभरेष्ट कलरको आईपीओ बाँडफाँट 

लगानीबक्स २०८३ वैशाख २९ २:२४ अपराह्न

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । वैशाख २९ गते विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँट कार्य सम्पन्न गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणका निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये पहिलो चरणमा १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म  ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर निष्कासन गरेको थियो । विक्री प्रबन्धकले कम्पनीको आईपीओ खरीदका लागि कुल ९० हजार ८ सय ५५ जनाको आवेदन परेको जानकारी दिएको छ । कुल आवेदकहरुमध्ये ९० हजार ८२० जनाको आवेदन मात्र रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ ।मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट ७ हजार ९०० जना भाग्यमानी आवेदकहरुलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएपछि अब कम्पनीले थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।

यस कम्पनीले विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरु सरह उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा विक्री वितरा गर्दै आएको छ । नेपालको पहिलो पेन्ट उद्योगको रुपमा यो कम्पनीले सबै बर्गका उपभोक्ताको आवश्यकता र नेपाली हावापानीलाई ध्यानमा राखी प्रिमियमदेखि इकोनोमी ब्राण्डसम्मका विविध प्रकारका रंगहरु उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन गरेको उद्योगको कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा रहेको र भने उद्योगको कारखाना चितवन जिल्लाको खैरहनीमा छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी ९० लाख ३७ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा छ ।