काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले सहकारीका छाता संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न रोक लगाउँदा प्रारम्भिक सहकारी संस्थाहरुमा समस्या उत्पन्न हुन सक्ने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले बागमती प्रोस्कूनको संयोजनमा आज सञ्चारकर्मीहरुका लागि आयोजना गरेको ‘सकारात्मक सञ्चारका लागि समाचार र विचार’ विषयक तालिम कार्यक्रममा बोल्दै उनले संघहरुको कारोबारमा रोक लगाउँदा सहकारीमा मन्दी आउन सक्ने भय प्रकट गरेका हुन् ।
‘सरकारले सहकारीको प्रवद्र्धन , विकास र शुद्धीकरण गर्नका लागि ऐन र नियमावली बनाउनुपर्छ,’ हाल संघहरुमा ९० अर्ब भन्दा बढी सम्पत्ति रहेको जानकारी गराउँदै उनले भने, ‘तर सहकारीको स्वायत्तता र यसका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त मिच्ने विषयमा हाम्रो आपत्ति छ ।’
सहकारी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर छाता संघहरुले बचत तथा ऋणको कारोबार गरिरहेको उल्लेख गर्दै उनले सहकारीको विकास र शुद्धीकरण लागि छाता संघहरु सदैव सरकारलाई साथ दिन तयार रहेको बताए ।
‘कतिपयले ऐनमा भएको व्यवस्थालाई बङ्ग्याएर छाता संघहरुले बचत ऋणको कारोबार गर्न पाउँदैनन् भन्ने गरे पनि सहकारी ऐन, २०७४मा संघहरुले कारोबार गर्न पाउने स्पष्ट व्यवस्था छ,’ उनले भने ।
संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न रोक लगाउँदा सदस्य संस्थाहरुलाई सापटी दिन नसक्नुका साथै संस्थाहरुलाई प्रवद्र्धन तथा शुद्धीकरण गर्ने कार्यमा समेत संकुचन आउने गुनासो गरे ।
अध्यक्ष सापकोटाले बागतमी प्रदेश सरकारको समेत सहयोगमा संघले प्रदेश भित्रका एक सय सहकारीलाई स्तरीकरण कार्यक्रम कोसिसमा आवद्ध गरेर शुद्धीकरण गरिहेको बताए । उनले भने, ‘हामी स्तरीकरण तथा शुद्धीकरण कार्यक्रममा सामेल सबै सहकारीको पूर्ण जिम्मेवारी लिन तयार छौं । ती संस्थाहरु सदस्यले मागेको बेला बचत फिर्ता सक्षम छन् ।’
सरकारले सहकारी क्षेत्रमा शुद्धीकरण, एकीकरण, सफ्टवेयर प्रणाली, अकाउन्ट लगायतको प्राविधिक सहायता तथा समसामयिक नीति विधि तय गर्ने विषयमा जोड दिन आवश्यक रहेको उनको भनाई थियो ।
बागमतीको बचत ऋण अभियानलाई बलियो बनाउन संघ क्रियाशील रहेको भन्दै त्यसका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ । सहकारीको विश्व अभ्यास, मुल्यमान्यता र सिद्धान्तलाई राज्यले कमजोर बनाउनु आपत्तिजनक हुने उनको भनाई छ । प्रदेश कार्यक्षेत्र भए पनि बहस पैरवीका लागि संघीय सरकारसम्म पुगेको उनले जानकारी दिए ।
अध्यक्ष सापकोटाले सञ्चारकर्मीहरुसंग सहकारीका मूल्य, मान्यता र सिद्धान्तको जगेर्ना गर्नुका साथै गलत कामलाई बाहिर ल्याएर सुधारका लागि सचेत बनाउन अनुरोध गरे ।
यसैगरी बागमती प्रोस्कूनले सहकारी बिट पत्रकारिताको दिगोपनका लागि आगामी दिनमा पनि सिजेएन सहकार्य गरेर यस्तै खालका कार्यक्रमा आयोजना गर्ने वचनवद्धता प्रकट गरे। कार्यक्रममा बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको उपस्थिति रहेको थियो भने, प्रोस्कूनका सीइओ केशव प्रसाद दाहाल र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रशिक्षण गरेका थिए ।
सीजेएनका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सञ्चारगृहमा आवद्ध २५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव माधव खड्काले गरेका थिए भने उपाध्यक्ष नमिता दुलालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

