काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणमा थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म थप सर्वसाधारणमा २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । जेठ ६ गते विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।
विक्री प्रबन्धकले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि २९ लाख ४८ हजार ९६६ जना थप सर्वसाधारणबाट आवेदन पेश भएको थियो । यीमध्ये २७ लाख ७१ हजार २५२ जनाको आवेदन मात्र रितपूर्वक भएको क्यापिटलको भनाई छ । रितपूर्वक आवेदन दिएका आवेदकहरुमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा २ लाख ५१ हजार ५४५ जना आवेदकहरुले मात्र शेयर पाएका छन् । यी आवेदकहरुमा पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गरि बाँकी रहेको ५ कित्ता शेयर यीमध्येकै ५ जनालाई १ कित्ताका दरले फेरी बाँडफाँट गरिएको हो । यसरी हेर्दा कम्पनीको आईपीओ अधिकतम ११ कित्तासम्म बाँडफाँट भएको छ ।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तामा आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । यसअघि कम्पनीले १२ लाख कित्ता भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि, ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ ।
यस कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ साल वैशाख १ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

