२०८३ असार २८ | ९:३६ AM
सानिगाड हाइड्रोको आईपीओ निष्कासन मिति परिवर्तन 

सानिगाड हाइड्रोको आईपीओ निष्कासन मिति परिवर्तन 

लगानीबक्स २०८३ जेठ १२ १:२३ अपराह्न

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने मिति परिवर्तन गरेको छ । यस अघि जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्ने मिति तय गरेको कम्पनीले सो दिन सार्वजनिक विदा दिने पछिल्लो निर्णय बमोजिम जेठ १८ गतेदेखिको मिति तय गरेको हो । यो आईपीओ छिटोमा जेठ १८ गतेसम्म र ढिलोमा असार १ गतेसम्म निष्कासनमा रहनेछ । पछिल्लो समय आईपीओमा सर्वसाधारण लगानीकर्ताको आकर्षण उच्च रहेकाले छिटो अवधि जेठ १८ गतेसम्म मात्र कम्पनीको आईपीओ निष्कासनमा रहनेछ ।

यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीले थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको आधारमा ३० प्रतिशत आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको छ । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा २८ लाख ५० हजार कित्ता र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरेको हो ।

यी वाहेक कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरि बाँकी ४६ लाख ७४ हजार कित्ता आईपीओ भने थप सर्वसाधारणमा जारी गर्न लागेको हो । थप सर्वसाधारणमा निष्कासन हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्नसक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले बझाङ जिल्लामा ३४ दशमलव ४६ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण समपन्न गरि २०७९ साल फागुन ६ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको ९ करोड १२ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिभित्र कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा रहेको छ ।