काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/फुकुवा गर्ने कार्य सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्न, नागरिकलाई छिटो सहज तथा पूर्वानुमानयोग्य समय उपलब्ध गराउन तथा सेवा प्रक्रियालाई मुहार विहिन, समयबद्ध तथा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने लक्ष्य अनुरुप राष्ट्रिय वाणिज्य बैंकले अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/फुकुवा गर्ने कार्य सुरु गरिएको हो ।
बैंकले हालसम्म आठ सयवटा भन्दा बढी धितो बन्धक रोक्का÷फुकुवा सोही प्रणालीमार्फत गरिसकेको छ । यसअघि अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का÷फुकुवा गर्ने सम्बन्धमा नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारी भएको थियो ।
धितोको जग्गा रोक्का तथा फुकुवा अनलाइनमार्फत गर्दा प्रक्रिया छिटो छरितो, पारदर्शी एवं सहज हुनुका साथै समय र खर्च बचत एवं ग्राहक सन्तुष्टी अभिवृद्धी हुने अपेक्षा गरिएको छ । विसं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी तीन सय १५ शाखा कार्यालयहरूमार्फत कर्जा, निक्षेपसहित एटीएम, मोबाइल बैंकिङलगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।

