काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ (Infosys Finacle Innovation Awards 2026) बाट सम्मानित भएको छ ।
बैंकले नवप्रवर्तनतर्फ उत्कृष्ट प्रदर्शन गर्दै “म्याक्सिमाइजिङ कस्टमर एंगेजमेन्ट-डिजिटल फर्स्ट बैंकिङ” विधामा गोल्ड अवार्ड प्राप्त गरेको हो । विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिको क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कनका आधारमा यो अवार्ड प्रदान गरिने गरिन्छ । यस अन्तर्राष्ट्रिय सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङप्रतिको निरन्तर प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई प्रमाणित गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरूको विस्तार गर्दै आएको छ । मोबाइल बैंकिङ्ग, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन लगायतका नवप्रवर्तनात्मक सेवामार्फत ग्राहकहरूलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई यस अवार्डले थप ऊर्जा प्रदान गरेको बैंकले जनाएको छ। डिजिटल रूपान्तरणमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव दिन बैंकले चालेका कदमहरूलाई नै यो पुरस्कारको मुख्य हकदार मानिएको छ ।
सिद्धार्थ बैंकले आगामी दिनहरूमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहने विश्वास लिएको छ । यस अन्तर्राष्ट्रिय उपाधिले ग्राहकहरूप्रतिको जिम्मेवारीलाई थप मजबूत बनाउनुका साथै भविष्यमा अझ परिष्कृत र व्यवस्थित ढङ्गले डिजिटल बैंकिङ सेवा प्रदान गर्न बैंकलाई प्रेरित गरेको छ ।

