काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । प्रतिशेयर १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८५ हजार कित्ता शेयर वैशाख २१ गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरिएको हो । यी वाहेक पनि सामूहिक लगानीकोषका लागि ४२ हजार ५०० कित्ता र कर्मचारीहरुको लागि १७ हजार कित्ता शेयर बाँडफाँट गरि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर भने थप सर्वसाधारणमा निष्कासन गरिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले वाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरु बजारमा विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनीले दैनिक १४ दशमलव ३ मेट्रिक टक पेन्ट उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष ०८१÷८२ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २ करोड ५९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा छ ।

