काठमाडौं । सर्वोत्तम पेन्ट्सको आईपीओ खरीदका लागि २८ लाख ९७ हजार १२५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको तथ्याङ्कलाई हर्र्दा अन्तिम दिनसम्म यी आवेदकहरुबाट ३ करोड १० लाख ८० हजार २१० कित्ता शेयर खरीद माग भएको हो । जुन निष्कासन कित्ताभन्दा ४४ गुणा बढी खरीद माग हुन्छ । कम्पनीले अन्तिम चरणमा जेठ २८ गतेदेखि असार २ गतेसम्म थप सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । २८ लाख ९७ हजारभन्दा बढी आवेदनहरुमध्ये भाग्यमानी ७० हजार ५५० जना आवेदकहरुले मात्र कम्पनीको १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् । २८ लाख २६ हजारभन्दा बढी आवेदकहरुको हात भने खाली हुनेछ ।
यस कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएकोमा यस वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४२ हजार ५०० कित्ता र कर्मचारीहरूको लागि १७ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले बाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरू विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनी २०७९ साल असार ३१ गतेदेखि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा रहेको छ । प्राइभेट कम्पनीको रुपमा भने कम्पनी २०७१ साल माघ ९ गते दर्ता भएको थियो ।

