काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको अन्तिम चरणको आईपीओ खरीदका लागि मागभन्दा २२ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म थप सर्वसाधारणमा १४ लाख २७ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार अन्तिम दिनसम्म २८ लाख ९५ हजार ७९४ जनाबाट ३ करोड १४ लाख ४६ हजार २८० कित्ता शेयर खरीद माग भएको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ १ लाख ४२ हजार ७६० जना भाग्यमानी आवेदकहरुले मात्र १० कित्ताका दरले प्राप्त गर्नेछन् ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासनपछि बाँडफाँट समेत गरिसकेको छ ।
यस कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १ लाख ७२ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा वैशाख १७ गतेदेखि २३ गतेसम्म निष्कासन गरि वैशाख ३१ गते बाँडफाँट गरिएको हो । त्यस्तै कम्पनीले वैशाख १७ गतेदेखि ३१ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गरि जेठ २० गते बाँडफाँट गरेको छ ।
यी वाहेक ३४ हजार ४०० कित्ता शेयर कर्मचारीहरुका लागि र ८६ हजार कित्ता आईपीओ सामूहिक लगानी कोषहरुका लागि समेत बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ साल साउन १६ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ । यस आयोजनाबाट विद्युत उत्पादन अनुमति भने कम्पनीले २०७६ साल मंसिर १८ गते प्राप्त गरेको हो ।

