२०८३ असार २७ | ६:३४ AM
सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड 

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड 

७० हजार ५५० जनाले मात्र पाए शेयर

लगानीबक्स २०८३ असार ११ १०:५७ पूर्वाह्न

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले थप सर्वसाधारणमा अन्तिम चरणका निष्कासन गरेको आईपीओ असार ११ गते बाँडफाँट गरेको छ । कम्पनीले अन्तिम चरणमा जेठ २८ गतेदेखि असार २ गतेसम्म थप सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ७० हजार ५५० जना भाग्यमानी आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । विक्री प्रबन्धकका अनुसार कम्पनीको अन्तिम चरणको आईपीओ खरीदका लागि २८ लाख ९४ हजार २३२ जनाको आवेदन परेको थियो । जस मध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन मात्र रितपूर्वक भएको छ ।
अन्तिम चरणको आईपीओ बाँडफाँटपछि कम्पनीको आईपीओ निष्कासन प्रक्रिया सम्पन्न भएको छ । यस कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४२ हजार ५०० कित्ता र कर्मचारीहरूको लागि १७ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ । आईपीओपछि कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँ कायम भएको छ ।
यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले बाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरू विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनी २०७९ साल असार ३१ गतेदेखि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा रहेको छ । प्राइभेट कम्पनीको रुपमा भने कम्पनी २०७१ साल माघ ९ गते दर्ता भएको थियो । यस कम्पनीले अत्याधुनिक पेन्ट ल्याब स्थापना गरी प्रत्येक वर्ष आफ्नो कुल आम्दानीको केही हिस्सा अनुसन्धान तथा विकासमा खर्च गरेको बताएको छ । जसले गर्दा उत्पादित पेन्टको गुणस्तमार एकरुपता कायम भएको भनाई कम्पनीको छ । यस कम्पनीमा सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको ९ करोड २७ लाख रुपैयाँभन्दा बढी लगानी रहेको छ । कम्पनी व्यापार विस्तारको चरणमा रहेकाले आगामी दिनमा सकारात्मक प्रतिफल हुने अपेक्षा कम्पनीले गरेको छ ।