काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी दुई कम्पनीहरु समान अनुपातमा एक हुन लागेको हो । गत माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुबै कम्पनीहरुले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट वैशाख २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ७ गते दुबै कम्पनीले एकिकृत कारोबारका लागि अस्वीकृति प्राप्त गरेसँगै एकिकृत कारोबारको मिति तय गरेका हुन ।
मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा रहेर कारोबार गर्नेछन् । मर्जर प्रयोजनका लागि असार २५ गते एक दिनका लागि दुबै संस्थाहरुको सम्पूर्ण सेवा बन्द हुनेछ । पोखरा फाइनान्सको चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ छ भने समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

