२०८३ असार २७ | ५:४७ AM
प्राइम कमर्सियल बैंकको ऋणपत्र असार ३० गतेसम्म निष्कासनमा रहने

प्राइम कमर्सियल बैंकको ऋणपत्र असार ३० गतेसम्म निष्कासनमा रहने

लगानीबक्स २०८३ असार १९ १२:०१ अपराह्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरेको ऋणपत्र असार ३० गतेसम्म खुला रहने भएको छ । छिटो अवधि असार १९ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएपछि ढिलो अवधि असार ३० गतेसम्मको निष्कासन मिति तय भएको हो ।

यो बीचमा कुनै पनि दिन माग बमोजिम आवेदन प्राप्त भएमा निष्कासन बन्द गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले १० वर्ष अवधिको वार्षिक ६ दशमल २५ प्रतिशत ब्याजदर रहेको ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामको ऋणपत्र निष्कासन गरेको हो । प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्नेछ ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुमा विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।

सामूहिक लगानीकोषका लागि ६० हजार कित्ता ऋणपत्र सुरक्षित गरिएको छ । सार्वजनिक निष्कासनमा आएको ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्ने केयरएनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग ए पाएको छ ।

यो ऋणपत्र बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले तोकिएको ब्याजदर प्राप्त गर्नेछन् । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था छ । यो ऋणपत्र धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत हुनेछ ।