शनिबार, २४ असोज २०८३ | ८:०५ AM
साढे ५ करोडभन्दा बढी इम्पेरमेन्ट चार्ज रकम फिर्ता हुँदा आरएसडिसी…

साढे ५ करोडभन्दा बढी इम्पेरमेन्ट चार्ज रकम फिर्ता हुँदा आरएसडिसी लघुवित्तको नाफा बढ्यो

लगानीबक्स ५ साउन २०८३ ११:५३ पूर्वाह्न

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने गत वर्ष यो नाफा ३५ दशमलव ७६ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले १० करोड १८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज वापत् ५ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता हुँदा सञ्चालन नाफा बढ्न गएसँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको सञ्चालन नाफा ३३ दशमलव ६८ प्रतिशत बढेको हो ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने अघिल्लो वर्षभन्दा ३३ दशमलव ५८ प्रतिशत बढेर ११ करोड ४१ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँ छ भने जगेडा कोषमा २० करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । थोक कर्जा प्रवाह गर्ने कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले १२ महिनासम्म आफ्ना सदस्यहरुलाई १ करोड ३१ लाख रुपैयाँभन्दा बढी र विभिन्न लघुवित्त र सहकारीहरुमा ४ अर्ब २४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

यस अवधिसम्म कम्पनीले लिएको कर्जा सापटी भने ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी छ । निष्क्रिय कर्जा ३ दशमलव ९२ प्रतिशत कायम रहेको कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३७ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा छ ।