काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रदका लागि प्राप्त बोलपत्र साउन ७ गते बिहीवार खोल्ने भएको छ । कम्पनीले १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको ६३ हजार ८४७ कित्ता संस्थापक तर्फको हकप्रद शेयर दोस्रो पटक असार २५ गतेदेखि साउन १ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । उक्त अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र बिहीवार विहान १०ः१५ बजे विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने भएको हो ।
कम्पनीले फागुन १४ गतेसम्म कायम शेयधरनीहरुका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म निष्कासन गरेको १० प्रतिशत हकप्रद शेयर जेठ १९ गते बाँडफाँट सम्पन्न गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० प्रतिशतले हुने २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले २ अर्ब ५० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा हकप्रदमार्फत पूँजी बढाउन लागेको हो । विक्री नभएको हकप्रद शेयर समेत बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँभन्दा बढी कायम हुनेछ ।

