मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
अमेरिका–इरान तनाव कम भएसँगै तेलको मूल्यमा तीव्र गिरावट

अमेरिका–इरान तनाव कम भएसँगै तेलको मूल्यमा तीव्र गिरावट

लगानीबक्स ११ साउन २०८३ १:५१ अपराह्न

काठमाडौं । अमेरिका र इरानबीच दुई सातादेखि जारी सैन्य आक्रमण सप्ताहन्तमा रोकिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ। दुवै देशले सैन्य कारबाही स्थगित गरेसँगै कूटनीतिक समाधानको सम्भावना बढेको र होर्मुज जलडमरूमध्यबाट तेल आपूर्ति सहज हुने अपेक्षाले बजारमा दबाब परेको हो।

सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ६.२० डलर घटेर ९०.५८ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) ५.८० डलर घटेर ८३.५१ डलरमा कारोबार भएको छ। यो पछिल्लो एक साताकै न्यून स्तर हो।
यसअघि अमेरिका–इरान द्वन्द्वका कारण होर्मुज र बाब अल–मन्देब जलडमरूमध्यमार्फत हुने तेल ढुवानी प्रभावित हुँदा ब्रेन्ट तेलको मूल्य १०० डलरसम्म पुगेको थियो। तनाव कम हुने संकेतसँगै अहिले तेल बजार पुनः ओरालो लागेको विश्लेषकहरूले बताएका छन्।
यद्यपि आक्रमण रोकिए पनि होर्मुज जलडमरूमध्य हुँदै जहाज आवतजावत अझै सामान्य भइसकेको छैन। साथै यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका तेल पूर्वाधारमा आक्रमण गरेपछि बाब अल–मन्देब क्षेत्रमा पनि ढुवानी प्रभावित भएको छ।