काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको थियो।
सोमबार सेन्सेटिभ इन्डेक्स ३.०३ अंकले घटेर ४७०.४३ विन्दुमा झरेको छ। यसदिन ३५९ कम्पनीका १ करोड ३९ लाख १३ हजार ७७० कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब ७ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ बढी हो।
कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन्। बैंकिङ २ अंक र म्युचुअल फण्ड ०.०३ अंकले बढ्दा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युतलगायतका उपसमूहमा उल्लेख्य गिरावट देखिएको छ।
यसदिन ३५ कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। सर्वाधिक कमाउनेमा एभरेष्ट कलर र गरिमा समृद्धि योजना रहेका छन् भने आत्मनिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक सर्वाधिक गुमाउने कम्पनी बनेका छन्।

