काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। यसअन्तर्गत कर्मचारीहरूले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवासहित विभिन्न वित्तीय सुविधा प्राप्त गर्नेछन्।
बैंकले तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप सेवा, डिजिटल बैंकिङ, कर्जा सुविधा, कार्ड सेवा लगायतका अतिरिक्त बैंकिङ सेवा पनि उपलब्ध गराउने जनाएको छ।
माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको छ। बैंकका अनुसार यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई थप गुणस्तरीय र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

