मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
नेप्से २१.१५ अंकले घट्यो

नेप्से २१.१५ अंकले घट्यो

लगानीबक्स १९ साउन २०८३ ३:३६ अपराह्न

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६२.१८ विन्दुमा बन्द भएको छ। बजारसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
यस दिन ३४३ वटा कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो कारोबार दिन सोमबारको तुलनामा ५० करोड १२ लाख रुपैयाँ कम हो। सोमबार ४ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यसैगरी, सेन्सेटिभ इन्डेक्स २.६६ अंकले घटेर ४६७.९६ विन्दुमा पुगेको छ। फाइनान्सियल तथा सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः १.४० र १.०८ अंकले ओरालो लागेका छन्। मंगलबार कारोबार भएका सबै उपसमूह राताम्मे बने। बैंकिङ समूह ०.८० प्रतिशत, विकास बैंक ०.५० प्रतिशत, वित्त ०.१४ प्रतिशत, होटल तथा पर्यटन ०.६१ प्रतिशत, जलविद्युत् ०.५५ प्रतिशत, लगानी ०.७२ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३१ प्रतिशत, लघुवित्त ०.७२ प्रतिशत, म्युचुअल फण्ड ०.४४ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत, अन्य समूह १.०४ प्रतिशत तथा व्यापार समूह १.१९ प्रतिशतले घटेका छन्।

यद्यपि केही कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयर मूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको शेयर मूल्य ५.२६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। बजारका सबै उपसमूहमा गिरावट देखिएसँगै समग्र बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको विश्लेषण गरिएको छ।