काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन नाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार भएको जनाएको छ।
बैंकले गत आर्थिक वर्षमा ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २४ करोड ११ लाख रुपैयाँको तुलनामा २५२.९६ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब २८ करोड १४ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा ५८ करोड ४० लाख रुपैयाँ मात्र रहेको थियो।
बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १६.९९ प्रतिशत रहेको देखिएको छ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५० करोड ५४ लाख रुपैयाँ सञ्चित छ।
व्यवसाय विस्तारतर्फ भने बैंकको निक्षेप र कर्जा दुवैमा सामान्य गिरावट देखिएको छ। गत असारसम्म बैंकको निक्षेप संकलन ०.२६ प्रतिशत घटेर ५७ अर्ब ४४ करोड रुपैयाँ तथा कर्जा लगानी ०.०२ प्रतिशत घटेर ४७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। बैंकको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८६.६३ प्रतिशत रहेको छ।
नाफामा भएको उल्लेख्य वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ६.६५ रुपैयाँबाट बढेर २३.४८ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २०.५८ गुणा तथा प्रतिसेयर नेटवर्थ २१३.३० रुपैयाँ रहेको छ।

