मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब नाघ्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब नाघ्यो

लगानीबक्स २६ साउन २०८३ ४:४४ अपराह्न

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.७९ अंकले वृद्धि हुँदै २६४१.८५ विन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८५ अंक, फ्लोट इण्डेक्स ०.१७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले बढेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३४० वटा स्टकको ५२ हजार ७३ पटक कारोबार हुँदा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ।

मंगलबार अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। कम्पनीको शेयरमूल्य ५६ रुपैयाँ ९० पैसा बढेर ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यद्यपि, अन्य बढेका कम्पनीहरूको मूल्यवृद्धि ६ प्रतिशतभन्दा कम रहेको छ। उता, महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लगातार अग्रस्थानमा रहेको छ। कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको कारोबार रकम ३३ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

उपसमूहतर्फ १३ मध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ।