काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले भदौ १६ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सञ्चालक समितिको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ती लगाएतका प्रस्तावहरु गर्दै विशेष साधारण सभा बोलाएको हो । साउन २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय , पोखरामा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
यस कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँमा निष्कासन गर्ने गरी २०८१ साल मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुबीमा व्यवसाय सञ्चालन गरिरहेको कम्पनीले पूँजी बढाउन आईपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । लघुबीमा कम्पनीहरुले प्राधिकरणबाट लाईसेन्स प्राप्त गर्दा आईपीओमार्फत पूँजी बढाउने प्रतिबद्धता लिखित रुपमा प्रस्तुत गरेका थिए ।

