मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
कुमारी बैंकको नाफामा २९३ प्रतिशतको उछाल, खुद नाफा ७ अर्ब…

कुमारी बैंकको नाफामा २९३ प्रतिशतको उछाल, खुद नाफा ७ अर्ब ३८ करोड रुपैयाँ पुग्यो

लगानीबक्स २७ साउन २०८३ ११:४३ पूर्वाह्न

काठमाडौं । Kumari Bank Limited ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय सुधार भएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँको तुलनामा २९३ प्रतिशत बढी हो।

बैंकका अनुसार खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) फिर्ता (रिभर्स) भएकाले नाफामा ठूलो सुधार देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ थियो।

सञ्चालन आम्दानी पनि बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १५ अर्ब १९ करोड ४० लाख रुपैयाँ रहेको थियो। सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँबाट १०१ प्रतिशतले वृद्धि भई ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४५ करोड १४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज गरेकोमा समीक्षा अवधिमा १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ रिभर्स गरेको छ। यसले नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ। नाफामा सुधार भए पनि खराब कर्जाको वृद्धिले बैंकका लागि व्यवस्थापकीय चुनौती कायम रहेको संकेत गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँबाट बढेर ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यस्तै, कर्जा प्रवाह २ खर्ब ६० अर्ब ३२ करोड २३ लाख रुपैयाँबाट बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल इक्विटी ४४ अर्ब ७९ करोड ४० लाख रुपैयाँ पुगेको छ।
वितरणयोग्य नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा समीक्षा अवधिमा ७९ करोड १६ लाख रुपैयाँ पुगेको छ। यससँगै बैंकको लाभांश क्षमता ३.०२ प्रतिशत कायम भएको छ। बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २८.१७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ७.४५ रहेको वित्तीय विवरणमा उल्लेख छ।