काठमाडौं । अघिल्लो आर्थिक वर्ष ०८१।८२ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष ०८२।८३ को लागि पनि कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । गत जेठ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१।८२ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । यो लाभांश भने कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको आधारमा वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८२।८२ को मुनाफाबाट सोही चुक्तापूँजीको आधारमा कर समेत १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुबै आर्थिक वर्षको लाभांश पारित सहित अन्य विविध प्रस्ताव गर्दै कम्पनीले भदौ १८ गते संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । नेपा बैंक्वेट, नयाँबजार, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले लाभांश प्रस्ताव पारित गर्नुका साथै दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।
चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

