शुक्रबार, ५ भदौ २०८३ | ९:१७ AM
रूपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्दै विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल…

रूपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्दै विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

लगानीबक्स ३ भदौ २०८३ २:३० अपराह्न

काठमाडौं । रुपाकोट रिसोर्टले आईपीओ निष्कासनका लागि तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तामा आईप्ओि निष्कासनका लागि विक्री प्रबन्धक नियुक्ती गर्ने कार्य सम्पन्न गरेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटलसँग क्यापिटलको आईडीया टु आईपीओ अन्तर्गत सम्झौता गरेको हो । क्यापिटलले आफ्नो “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कम्पनीलाई स्थापनाकालदेखि आईपीओ जारी गर्ने प्रक्रियासम्म आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराउने गर्दछ ।

कास्की जिल्लाको रुपा–६, मैदानमा केन्द्रीय कार्यालय रहेको रुपाकोट रिसोर्ट लिमिटेडले पनि सोही सेवा लिनका लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीका अनुसार क्यापिटलले परामर्सदातादेखि आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गर्नेछ।

रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने विशेष भौगोलिक अवस्थित यस रिसोर्टको प्रमुख विशेषताका रूपमा रहेका छन् । पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले आफ्नो सेवा निरन्तर विस्तार गर्दै आइरहेको छ ।

पछिल्लो समयमा रुपाकोट रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीचको सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दौ रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सफल भएको छ ।