काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत ६ महिनाका लागि उक्त रकम बजारबाट तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बुधबार भदौ ३ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने अधिकतम रकम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी माग गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले निक्षेप संकलनका लागि प्राप्त बोलकबोलहरूको मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी माग गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा प्राप्त बोल रकम समावेश गर्दा निष्काशित रकमभन्दा बढी हुन गएमा ‘प्रो-रेटा बेसिस’मा बाँडफाँड गरिने व्यवस्था छ।
केन्द्रीय बैंकका अनुसार संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ फागुन ३ गते गरिनेछ। भुक्तानीका दिन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा निर्धारित ब्याजसहित रकम जम्मा गरिनेछ। बैंकिङ प्रणालीमा पछिल्लो समय लगानीयोग्य रकम पर्याप्त मात्रामा थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस्तो कदमले बजारमा रहेको अतिरिक्त तरलता नियन्त्रण गर्न तथा मौद्रिक व्यवस्थापनलाई सन्तुलित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
