काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थप सुदृढ बनाउँदै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीमार्फत ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।
बैंकले सुरु गरेको डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट सहज रूपमा कर्जाका लागि आवेदन दिन सक्नेछन्। साथै, आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘रियल–टाइम’ रूपमा ट्र्याक गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। बैंकका अनुसार यसले कर्जा स्वीकृति प्रक्रियालाई छिटो, पारदर्शी, सरल तथा वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।
अनलाइन कर्जा आवेदनका लागि ग्राहकहरूले digi.nmb.com.np मा लगइन गरी ‘Loan Services’ अन्तर्गत ‘Explore Products’ मा क्लिक गर्नुपर्नेछ। त्यसपछि आवश्यक कर्जा शीर्षक छनोट गरी विवरण भरेर आवेदन पेश गर्न सकिनेछ। आवेदन दर्ता भएसँगै ग्राहकले ‘Online Loan Tracking ID’ प्राप्त गर्नेछन्, जसको प्रयोग गरी आफ्नो आवेदनको अवस्था सहजै हेर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यसहित यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटल माध्यममा रूपान्तरण गरी ग्राहकको समय बचत गर्न तथा दिगो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
हाल एनएमबि बैंकले देशभर रहेका १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
