काठमाडौं । मुक्तिनाथ विकास बैंकले तीज, दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) व्यवसायका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा बढ्ने आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकका लागि उक्त योजना ल्याएको जनाएको छ।
बैंकका अनुसार योजनाअन्तर्गत कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह गरिने विभिन्न कर्जा शीर्षकमा बेस रेटमा प्रकाशित प्रिमियम रेट मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। विशेष योजनाअन्तर्गत कृषि तथा एसएमई कर्जामा न्यूनतम ०.५० प्रतिशत प्रिमियममै कर्जा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी, ग्राहकलाई थप सहुलियत प्रदान गर्ने उद्देश्यले कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ। बैंकका अनुसार चाडपर्वको समयमा व्यवसाय विस्तार तथा वित्तीय आवश्यकता पूरा गर्न कृषि तथा साना तथा मझौला व्यवसायीलाई आवश्यक स्रोत जुटाउन यो योजनाले सहयोग पुर्याउनेछ। योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजी व्यवस्थापनलगायतका प्रयोजनका लागि कर्जा लिन सकिनेछ। साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्वाप गर्न पनि यो सुविधा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र उपलब्ध रहने बैंकले जनाएको छ। देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उक्त सुविधा प्राप्त गर्न सकिनेछ। ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य सर्तबारे विस्तृत जानकारी लिन सक्ने बैंकले जनाएको छ।
